समाचार

खेमराज गुरुङ स्रष्टा सम्मान दीप श्रेष्ठ र भविन ढुंगानालाई

योहो संवाददाता

काठमाडौँ — पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मिएका लोकप्रिय गायक स्वर्गीय खेमराज गुरुङको नाममा स्थापना भएको ‘खेमराज गुरुङ ट्रस्ट’ले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई गर्ने भएको छ ।

खेमराज गुरुङ स्रष्टा सम्मानअन्तर्गत वरिष्ठ गायक दीप श्रेष्ठ र प्रतिभा पुरस्कारअन्तर्गत गायक तथा संगीतकार भविन ढुंगानालाई सम्मान गर्ने निर्णय गरिएको ट्रस्टका अध्यक्ष जीवन गुरुङले जानकारी दिए । गुरुङका अनुसार भदौ ३ गते आज स्वर्गिय गायक गुरुङको छैटौँ वार्षिक पुण्यतिथिको अवसरमा ट्रस्टले संखुवासभाको सदरमुकाम खाँदबारीमा गायकद्वयलाई सम्मान गर्न लागेको हो । 

२०२५ साल पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीत/संगीतको क्षेत्रमा पदार्पण गर्नुभएका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् । श्रेष्ठ लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच (जज)समेत भइसकेका छन् । भने ढुंगाना नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाली तारा’को पहिलो सिजनको उत्कृष्ठ चारमा पर्न सफल ढुंगाना पछिल्लो समय लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठको संगीत सल्लाहकार थिए । दर्जनौँ गीतका स्वर र संगीत भरेका ढुंगाना त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका संगीत शिक्षकसमेत हुन् ।

ट्रस्टले गुरुङको स्मृतिमा हरेक वर्ष स्रस्टा सम्मान तथा प्रतिभा पुरस्कार वितरण गर्दै आएको छ । यसअघि ट्रस्टले ‘खेमराज गुरुङ स्रष्टा सम्मान’बाट जनगायक रामेश, वरिष्ठ गीतकार रत्नशमशेर थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरेको थियो । त्यस्तै, खेमराज प्रतिभा पुरस्कार यसअघि गायक सुसन लामा, गायिका मेलिना राई र संगीतकार तथा गायक ओमप्रकाश राईलाई प्रदान गरिएको थियो ।

पुरस्कारको राशि सम्मानतर्फ नगद ५० हजार, दोसल्ला र कदरपत्र रहेको छ भने प्रतिभा पुरस्कारतर्फ नगद २० हजार, दोसल्ला र कदरपत्र रहेको छ । कार्यक्रम शुक्रबार (आज) खाँदबारीको पोखरी बजारमा हुने भएको छ । उक्त कार्यक्रममा सहभागी हुन राजेशपायल राईलगायतका कलाकार संखुवासभा आउने बताइएको छ । स्वर्गीय गुरुङको ‘वारि जमुना, पारि जमुना’, आलु तामालेलगायतका दर्जनभन्दा बढी गीत लोकप्रिय छन् ।