समाचार

पिपुल्स पावरको आईपीओ बिक्री खुला


काठमाडौँ — पिपुल्स पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँबराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ । ५ प्रतिशत अर्थात् एक लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा सुरक्षित गरिएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त मितिसम्म मागबमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म आवेदन दिन समय थप हुनेछ ।

लगानीकर्ताले मेरोसेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले इलामको इलाम नगरपालिका-१ र ४ मा पुवाखोलाको पानीबाट ४.९६ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ मा प्रतिसेयर आम्दानी ) रुपैयाँ ४६ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ९७ पैसा छ । उक्त अवधिसम्म कम्पनी एक करोड ९१ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ ।