देश

बाणगंगाले प्रहरीलाई दियो विपद जोखिम न्युनीकरणका आवश्यक सामग्री

योहो संवाददाता

काठमाडौँ — चालू वर्षको मनसुन सुरु भइसकेको र पालिकामा विपद्जन्य घटना हुनसक्ने भन्दै बाणगंगा नगरपालिकाले विपद जोखिम न्युनीकरणका लागी आवश्यक सामग्री प्रदान गरेको छ । एक कार्यक्रमका बीच नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमरी थारु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी लगायत ११ वटै वडाका वडाध्यक्षको उपस्थितिमा उक्त सामग्री ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.सी.लाई हस्तान्तरण गरिएको हो ।

भारी बर्षाले निम्ताउने विपत जोखिमलाई यस्ता साम्रगीले न्युनीकरण गर्न सहज हुने नगरप्रमुख अर्यालले विश्वास व्यक्त गरे । अहिले बर्षाको समय छ, यो बेला यस क्षेत्रका कतिपय ठाउँमा डुवान हुने, घरमा नै बाढी पस्ने समस्या विगतदेखि नै आउने गरेको छ ।’ उनले भने, ‘यस्ता समस्यालाई समाधान तथा न्युनीकरणका लागी हामी सबै अहिलेबाट नै सचेत हुनुपपर्छ ।’

विपद्मा तत्काल आवशयक पर्ने डोजर, जेसिबीलगायतका आवश्यकता अनुरुप सामग्रीका साथै सवारी चालकलाई समेत पूर्वतयारी अवस्थामा राखिने नगरप्रमुख अर्यालले बताए । जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आफनो ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन उनले आग्रह गरे ।

प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले हरेक क्षेत्रकोे आवश्यक सूचना सङ्कलन तथा निगरानी गरी तयारी अवस्थामा रहन आग्रह गरे । यो बर्षाको समयमा सबै सजक हुनुपर्ने आवश्यकता औंल्याउदै बढी, पहिरोले विगतमा हुने गरेका क्षतिलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए ।

प्राकृतिक विपत्ति जुनसुकै समयमा आउन सक्ने भएकाले यसबाट हुनसक्ने सम्भावित जोखिम न्युनीकरणमा नगरपालिकाले सक्दो कदमी पहल चाल्ने उनले प्रतिवद्धता व्यक्त गरे । ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.सी.ले नगरपालिकाले विपत जोखिम न्युनीकरणमा चासो देखाएर त्यसका लागी सामग्री उपलब्ध गराएको भन्दै खुशी व्यक्त गरे । नगरपालिकाले प्रहरीलाई लाईफ ज्याकेट ८ थान, बमबुट ५ सेट, रसी १ रोल र ४ थान ट्युब उपलब्ध गराउएको छ ।