Breaking

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु


काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा मंगलबार बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हेटौंडा उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीय दयाराम मुक्तान र भीमफेदी गाउँपालिका-१ निवासी २३ वर्षीय दिपेश गोलेको मृत्यु भएको हो ।

डुम्रेबाट दमौलीतर्फ आउँदै बा४३प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग३च ४१८२ बोलेरोले ठक्कर दिएको हो ।

मुक्तानको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।