समाचार

सिरहामा मलमूत्र खुवाएको आरोपमा २ महिला पक्राउ


काठमाडौँ — छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका निवासी ३० वर्षीया फूलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ ।

गएको शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई मलमूत्र खुवाएको आरोपमा दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक साहले बताए ।