Breaking

कोटेश्वरमा हाइसले ठक्कर दिँदा एकजनाको मृत्यु, सहचालक घाइते


काठमाडौँ — काठमाडौँको कोटेश्वरमा सोमबार बेलुका हाइसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार बेलुका ७:४० बजे काठमाडौँ महानगरपालिका– ३२, कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकनजिक कोटेश्‍वरबाट बालकुमरीतर्फ जाँदै गरेको बा २ ख १२३१ नं को जम्बो हाइसले पैदलयात्री स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार शेनलाई ठक्कर दिएको हो ।

दुर्घटनालगत्तै शेनलाई बी एन्ड बी हस्पिटल (ग्वार्को, ललितपुर) मा लगिए पनि उपचारका क्रममा सोमबार ८ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

शेनलाई ठक्कर दिएको हाइसले बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गरेको प्रदेश नं. ३–०१–००६ ख ०२९५ नम्बरको ट्रकलाई समेत ठक्कर दिँदा हाइसका सहचालक रामेछाप मन्थली नगरपाािलका वडा नम्बर स्थायी घर भई हाल ललितपुर कुमारीपाटी बस्ने वर्ष २३ का विमल सुनुवार घाइते भएको प्रहरीले जनाएको छ । ​

सहचालक सुनुवारलाई उपचारका लागि सिभिल हस्पिटल (नयाँबानेश्वर) लगिएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने बा २ ख १२३१ नम्बरका जम्बो हाइस र हाइसले ठक्कर दिएको प्रदेश नं ३–०१–०० ६ ख ०२९५ नम्बरको ट्रक र ट्रक चालकलाई बानेश्वरस्थित प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ । हाइसका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइते सहचालकको अवस्था बोल्न सक्ने (कम्मर र दुवै खुट्टामा चोट) रहेको प्रहरीले जानकारी दिएको छ ।