Breaking

तीनदिन देशभर भारी वर्षा,तराई र पहाडी क्षेत्र जोखिममा


काठमाडौँ — हाल देशको केही भागमा फाटफुट वर्षा भइरहेको छ । कुनै प्रदेशमा भारी वर्षा भएको अवस्था छ भने कुनैमा मध्यम झरी परिरहेको छ । तर, मंगलबारदेखि भने देशैभर भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताइरहेका छन् । नेपालमा मनसुन सामान्यत जून १३ देखि सुरु हुन्छ । मनसुन सुरु भएपछि पानी पर्नु स्वभाविक हो । यसलाई नियमित प्रक्रियमा नै मान्न सकिन्छ । तर यो वर्ष एक साता अघि नै सुरु भएको मनसुनले अहिले नेपालको पहाडी जिल्लालाई ज्यादै दुख दिइरहेको छ । मध्य मनसुन नआइपुग्दै पहाडको विभिन्न जिल्लामा पहिरोले मानिसको दैनिक जनजीवन नै प्रभावित पारिरहेको छ ।

मनसुनी वायुको प्रभाव थप सक्रिय भइरहेको अहिलेको अवस्थामा मंगलबार राति देखि भने देशैभरका अधिकांश स्थानमा मुशलधारे वर्षा हुने मौसम पूर्वानूमान महाशाखाले प्रक्षेपण गरेको छ । यसअघि पहाडी जिल्लामा मात्रै प्रभाव पारेको वर्षाले मंगलबारदेखि तीन दिनसम्म पर्ने वर्षाले भने देशभरकै जनजीवन प्रभावित हुने देखिन्छ । यसरी पर्ने वर्षाले विशेष गरि प्रदेश १, मधेश प्रदेश, बाग्मती, लुम्बिनी प्रदेशको क्षेत्रमा बढी जोखिम रहेको छ । नेपालमा हरेक वर्ष बाढी÷पहिरोबाट व्यापक जनधन क्षति हुने गरेको इतिहास छ ।

यो अवधिमा देशको स्थिति जोखिम पूर्ण हुने भएकोले पहिले नै सावधानी अपनाउन जरुरी देखिन्छ । देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले बाढी पहिरोबाट बच्नका लागि उचित उपाय अपनाउनु पर्ने जानकार बताउछन् । यसरी प्रत्येक वर्ष वर्षाको समयमा नेपालको पहाडी भूभाग पहिरो र तराईको क्षेत्र डुवानमा पर्ने गर्छ । त्यहाको बासिन्दाहरु डरैडरमा बाच्न पर्ने स्थिति छ ।सरकारको भने हरेक वर्ष आउने यस्ता विपद् नियन्त्रणको विषयमा ध्यानै जाँदैन । डुवान र पहिरो गएको क्षेत्रमा हेलिकप्टर चार्टर गरेर अवलोकन गर्नुमात्र आफ्नो कर्तव्य ठान्ने सरकारको प्रवृत्तिका कारण समस्या जहाँको त्यही रहेको छ ।