Breaking

स्थानीय तह निर्वाचनमा सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं: अध्यक्ष नेपाल


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरेका छन् । सोमबार पार्टीको केन्द्रीय परिषद बैठकलाई सम्बोधन गर्दै नेपालले २८ प्रतिशत स्थानीय तहमा उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएको दाबी गरे ।

‘हामीले यसपटक झण्डै २८ प्रतिशत उम्मेदवार मात्रै खडा गरेका थियौं,’ नेपालको भनाइ छ, ‘यसमा ९ लाख मत पायौं । यदि हामीले सबै ठाउँमा उम्मेदवारी दिएको भए यो भन्दा दोब्बर मत पाउने थियौं । कम्तीमा पनि २० लाखको सेरोफेरोमा मत पाउने थियौं ।

२० लाख मत पाउने हो भने प्रतिनिधिसभामा हाम्रो केही सिट सुरक्षित हुनेछ ।’ नेपालले अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लगाउनुपर्नेमा जोड दिए । ‘अब हामीले हाम्रो ध्यान एउटै कुरामा केन्द्रित गर्नुपर्छ । त्यो हो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन । अब हाम्रो सम्पूर्ण ध्यान त्यसमै राख्नुपर्छ,’ नेपालले भने ।

उनले संघीय निर्वाचन क्षेत्रका १६५ र प्रदेशसभातर्फका ३३० सिटमा नै उम्मेदवारी दिने गरी तयारी थाल्न समेत निर्देशन दिए । दुवै निर्वाचनमा समानुपातिक प्रणालीतर्फको मत चाहिने भन्दै नेपालले उक्त मत बढाउनेतर्फ ध्यान दिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।