Breaking

म आफूले आफूलाई नम्बर दिने मान्छे होइन, नम्बर जनताले दिनुपर्छ: कृष्णकुमार श्रेष्ठ


काठमाडौँ — निवर्तमान श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले आफूले पदमा रहँदा कुनै गल्ती नगरेको बरु धेरै राम्रा कामको सुरुवात गर्न पाएकोमा गौरवान्वित अनुभूति भएको बताएका छन् । सोमबार मन्त्रालयका कर्मचारीको बिदाइ कार्यक्रममा श्रेष्ठेले तर आफू आफैले गरेका कामको नम्बर दिने पक्षमा नरहेको बताए ।

‘म आफूले आफूलाई नम्बर दिने मान्छे होइन, नम्बर जनताले दिनुपर्छ’, श्रेष्ठले भने, ‘हुन त कतिपयले राजीनामा किन नदिएको भनेर प्रश्न पनि गर्नुभयो तर राजीनामा दिने अपराध किसान श्रेष्ठले गरेको छैन ।’ उनले पार्टीको सिफारिसमा मन्त्री भएको र पार्टीकै सिफारिसमा फिर्ता भएको भन्दै नियमित प्रक्रियाका रूपमा बुझ्न आग्रह गरे ।

उनले सरकारले बजेट पेस गरेपछि त्यसको जवाफ दिएर मात्रै बाहिरिने इच्छा भएकाले केही दिन ढिलाइ भएको र जवाफ दिएपछि बाहिरिएको बताए । ‘हाम्रो भनाइ यति मात्र कि हो संसदीय परम्पराअनुसार संसद्मा बजेट पेस गरेपछि माननीयहरूले गरेका प्रश्नको उत्तर दिन पाउनुपर्छ’, उनले पार्टीले फिर्ता बोलाएपछि पार्टी नै छोड्न लागेको भनेर गरेको प्रचारमा सत्यता नभएको दाबी गरे ।

‘पार्टी नै छोड्न लागेको, अरू पार्टीका नेतालाई भेटेको भनेर पनि भनियो तर यो केही होइन, पार्टी छोड्न लागेको होइन’, श्रेष्ठले भने, ‘अहिले नै हेर्नुस् न म मन्त्री चढ्ने भन्दा ठुलो गाडीमा चढेर आएको छु ।’ श्रेष्ठले पदमा रहँदा आफूले कुनै गल्ती नगरेको बरु जति काम गरेको छ ती सबै राम्रा काम गरेको दाबी पनि गरे । ‘हामीले केही गल्ती गरेका छैनौ जति गरेका छौ राम्रो काम गरेका छौ’, उनले त्यसको श्रेय मन्त्रालयका सचिव लगायत सबै कर्मचारीलाई जाने पनि बताए ।

श्रेष्ठले आफूले मन्त्रीका रूपमा आठ महिना २१ दिन बसेर सफल कार्यकाल पुरा गरेको भन्दै नयाँ आउने मन्त्री शेरबहादुर कुँवर पनि आफ्नै पार्टीको भएको र उनलाई पनि आफूलाई जसरी नै सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरे । ‘जसरी मलाई २४ सै घण्टा खटिएर सहयोग गर्नुभयो उहाँलाई पनि त्यसरी नै सहयोग गर्न म विनम्र अनुरोध गर्दछु’, श्रेष्ठको भनाइ छ ।

उनले आफू एक्सन ओरियन्टेडका रूपमा काम गर्न मन पराउने भएकाले कतिपय बेलामा दलालहरूलाई डाइरेक्ट आफैले फोन गरेर पनि पीडितहरूलाई सहयोग गरेको बताए । म एक्सनमा जाने मान्छे हो, त्यस क्रममा दलालहरूलाई म आफै डाइरेक्ट फोन पनि गर्थे, यसमा कतिपय साथीहरूलाई चित्त दुखेको छ भने पनि आजैबाट भुलिदिनुस्’, श्रेष्ठको भनाइ छ ।