Breaking

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने


काठमाडौँ — राष्ट्रियसभा बैठकमा आज बजेटको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने भएका छन् ।

बिहान ११ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, श्रम, रोजगार तथा समाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रीले जवाफ दिने संसद सचिवालयले जनाएको छ ।

यस्तै महिला, बालिका तथा जेष्ठ नागरिक, कृषि तथा पशुपंक्षी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकमा वन तथा वातावरण, शहरी विकास, उद्योग वाणिज्य तथा आपुर्ति र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले पनि मन्त्रालयगत शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज विभिन्न विधेयक तथा प्रतिवेदनहरू पेश हुँदैछन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ छलफलका लागि पेश गर्ने कार्यसूची छ । यस्तै प्रधानमन्त्री देउवाले नै “लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।