समाचार

ट्रकले मोटरसाइकललाई ठक्कर एकको मृत्यु, १ घाइते


काठमाडौँ — बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

शनिबार कोहलपुरतर्फ आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले भे११प ७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँकेको बैजनाथ गाउँपालिका-२ की २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दीपिकाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दीपिकाका श्रीमान ३५ वर्षीय दिलबहादुर कटुवाल घाइते छन् ।

ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक मल्लले बताए ।