Breaking

नेपालको ब्यापार युक्रेनसँग २० अर्ब ८१ करोड घाटा


काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न वस्तुको आयात गर्दा मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको मुद्रा बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको ब्यापार स्थितिअनुसार डेढ सयभन्दा बढी देशहरुबाट नेपालमा विभिन्न थरीका वस्तु आयात भएको छ ।

११ महिनाको अवधिमा स्वदेशी वस्तु निर्यात गरेर मुलुकले १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको मुद्रा आर्जन गरेको छ । समग्रमा आयात ठूलो भएकाले मुलुकको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको छ । हाल रसियाले आक्रामण गरिरहेको मुलुक युक्रेनसँग पनि नेपालको ब्यापार ठूलो छ । नेपालसँग व्यापारका आधारमा युक्रेन आठौं ठूलो मुलुक हो । युक्रेनबाट नेपालमा ११ महिनामा २० अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । खासगरी तेलहनको कच्चा पदार्थ युक्रेनबाट बढी मात्रामा आयात हुने गर्छ ।

नेपालमा भारतबाट सबैभन्दा धेरै रकमको वस्तु आयात हुने गर्छ । भारतबाट मात्रै ११ महिनामा ११ खर्ब रुपैयाँ बराबरको वस्तु भित्रिएको छ भने नेपालले भारतलाई १ खर्ब ४५ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ । भारतपछि चीनबाट सबैभन्दा धेरै २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भारत र चीनपछि धेरै वस्तु आयात हुने मुलुकहरुमा क्रमश अमेरिका, इन्डोनेसिया, युएई, अर्जेन्टिना, अस्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, थाइल्याण्ड र बंगलादेश पर्दछन् ।