Breaking

आक्रमण छिचोलेर चुनाव जित्ने जनप्रतिनिधिलाई ओलीको बधाई

योहो संवाददाता

काठमाडौँ — नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिन थालेको छ । राजनीतिक परिस्थिति, स्थानीय तहको अधिकार, कार्यक्षेत्र व्यवस्थापन लगायतका विषयमा प्रशिक्षित हुन एमालेबाट निर्वाचित जनप्रतिनिधि काठमाडौको राष्ट्रिय सभागृहमा भेला भएका छन । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा २ सय ९४ पालिका प्रमुख सहित पहिलो पार्टीको बनेको नेकपा एमाले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा ८९ सिट गुमाएर २ सय ५ मा सिमित बन्यो ।

निर्वाचनमा बहुमत प्राप्त गर्ने हुँकार गरिरहेका एमाले नेतृत्व र पार्टीका लागि यो नै भन्दा ठुलो धक्का हो । कारण स्थानीय तह निर्वाचनको प्रभावले आगामी संसदीय निर्वाचनमा भूमिका खेल्नेछ । तथापी नेकपा (एमाले) ले हारेर पनि हार स्वीकार गर्न सकेको छैन । लोकप्रिय मतको हुँकार दिँदै सिट गुमाउनुको पीडा भुल्न खोजिरहेका छन् ।

विहिवार पार्टीबाट निर्वाचित देशभरका जनप्रतिनिधिलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष के.पी शर्मा ओलीले एमालेलाई सिध्याउन अरु सबै शक्ति लागेपनि त्यो पूरा नभएको प्रष्ट्याउँदै श्रृंखलाबद्ध आक्रमण छिचोलेर स्थानीय चुनावबाट एमाले प्रमुख राजनीतिक पार्टी भएको बताए । अध्यक्ष ओलीले एमालेबाहेक कुनै पार्टीसँग भिजन नै नभएको भन्दै नमुनाको रूपमा आफूलाई प्रस्तुत गर्न जनप्रतिनिधिलाई शुभकामना पनि दिए ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने वितेको पाँच वर्षमा भएका राम्रा कामको अनुशरण र नराम्रो कामको अन्त्य गर्दै जनताको सेवामा खटिने बताए । स्थानीय सरकार जनताको नजिकको सरकार हो । अविभावक हो । तर नेपालमा भने एकाध बाहेक पहिलो पाँच वर्षको अभ्यास हेर्दा स्थानीय तह भ्रष्टचार गर्ने थलो, राजनीतिक भागवण्डा र खिचातानीका कारण नागरिकमा विक्रीत भएको छ ।

नागरिकको निराशालाई आशामा बदल्न स्थानीय सरकारलाई अझ बलियो र मजवुद बनाउन केन्द्र सरकार पनि गम्भिर हुनुपर्ने प्रभावकारी सहजीकरण आवश्यक रहेको जनप्रतिनिधिको बुझाई छ । नागरिकमा स्थानीय सरकारप्रति आशासँगै शंकाको ठुलो खाडल छ । पार्टीगत हिसावले पनि जनमतमा खुम्चिएको एमालेका प्रतिनिधिले यसको चिरफार गर्दै स्थानीय तहमा सुशासन कायम गर्दै नागरिकको अपेक्षा पुरा गर्न कति सफल हुन्छन् ? त्यो भने हेर्न बाँकी नै छ ।