काठमाडौँ — विराटनगर महानगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेले बहुमत हासिल गरेको छ । सत्ता गठबन्धनमा रहेका दलबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेपनि शनिबार महानगरको कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा एमाले र स्वतन्त्र उम्मेदवारको गठबन्धन विजयी भएको हो ।
कार्यपालिकाको निर्वाचनमा एमालेका पाँच महिला सदस्य र एक जना दलित र अल्पसंख्यक प्रतिनिधि निर्वाचित भए । त्यस्तै एमालेसँग तालमेल गरेका स्वतन्त्र समूहबाट पनि दुई जना कार्यपालिका सदस्य निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । नगर कार्यपालिकामा जनता समाजवादी पार्टीका २ र कांग्रेसका १ जना प्रतिनिधि निर्वाचित भए ।
महानगरको कार्यपालिका चुनावमा ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका हुन् । महानगरमा एमालेले उपमेयरसहित ४३ र कांग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए । कार्यपालिका निर्वाचनमा कांग्रेस जसपा गठबन्धनसँग ५० मत र एमाले स्वतन्त्र गठबन्धनसँग ४६ मत थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बुढाथोकीका अनुसार कार्यपालिका सदस्यको निर्वाचनमा अल्पसंख्यकतर्फ एमालेका दीपककुमार कर्ण ५३, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र सञ्जीव साह ५२ मत ल्याएर विजयी भए । अल्पसंख्यकमा कांग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका बबितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत पाएका थिए ।
महिला सदस्य पाँचै जना एमालेका उम्मेदवार निर्वाचित भए । एमालेकी सुन्तलीदेवी विश्वास ५५, कमला श्रेष्ठ ५४, ताराकुमारी राय ५३, सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनिताकुमारी रेग्मी ३८ र जसपाकी चुलियादेवी साहले ४० मत पाएर पराजित भए ।
जसपा त्यागेर मेयरमा स्वतन्त्र उममेदवार बनेका उमेश यादवको स्वतन्त्र टिमले कार्यपालिका निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो । नेपाली काङ्ग्रेस र जसपा गठबन्धनका सदस्यले एमाले उम्मेदवारलाई सघाएपछि कार्यपालिका निर्वाचनमा एमाले गठबन्धनले बाजी मारेको हो । जितसँगै महानगरको कार्यपालिकामा एमालेको बहुमत पुगेको छ । २९ सदस्यीय कार्यपालिकामा उपमेयर र ९ वडा अध्यक्षसहित एमालेको सदस्य १५ पुगेका छन् ।
मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र ८ सदस्यसहितको महानगर कार्यपालिकामा कांग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष सदस्य छन् । यसअघि बुढिगंगा गाउँपालिकामा एकल बहुमतमा रहेको कांग्रेसका उम्मेद्वार कार्यपालिका निर्वाचतमा पराजित भएका थिए ।


प्रतिक्रिया