देश

कमल थापाले गरे मतदान , निर्वाचनमा पैसाको ठूलो चलखेल भएको दाबी


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ । उहाँले आज हेटौंडा ६ स्थित वंशगोपाल उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनमा पैसाको ठूलो चलखेल भएको दाबी गर्नुभयो । उहाँले यस विषयलाई गम्भीर रुपमा लिएर निराकरणको लागि बहस हुनुपर्ने माग राख्नुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘यसले प्रजातन्त्रलाई संस्थागत गर्नको निमित्त, संविधानलाई संस्थागत गर्नको निमित्त महत्वपूर्ण योगदान पुग्छ भन्ने विश्वास छ । चुनावमा पैसाको धेरै ठूलो चलखेल भएको देखिएको छ । यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बारेमा पनि राष्ट्रिय बहस हुनुपर्छ । साथै स्थानीय चुनाव निर्दलीय रुपमा निर्वाचन गर्ने हो की भन्ने बारेमा पनि बहस हुनुपर्छ ।’ अध्यक्ष थापाले स्थानीय चुनाव निर्दलीय रुपमा गर्न उपर्युक्त हुने भएको भन्दै त्यसमा विशेष बहस हुनुपर्ने बताउनु भयो ।