Breaking

भोट हाल्न गाउँ फर्किदै मतदाता, व्यवसायीलाई चाडपर्व सरह, सेवा दिनै हम्मेहम्मे

योहो संवाददाता

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा भोट हाल्नको लागि मतदाताहरु गाउँ फर्कन थालेका छन् । यससँगै काठमाडौँका बसपार्कहरुमा सर्वसाधारणको भिडभाड बढेको छ । संघीयता कार्यन्वयनसँगै दोस्रो पटक यहि वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । एक सातापछि आम मतदाताले दोस्रो पटक आफ्नो मतधिकारको प्रयोग गर्ने अवसर पाउँदै छन । राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवारहरु सबै महिनौंदेखि गाउँ–घरमै छन । उनीहरु अहिले भोट माग्दै मतदाताको घर–घरमा छन । निर्वाचनको मिति नजिकिएसँगै अध्ययन विभिन्न पेसा व्यवसाय र रोजगारीका लागि राजधानीमा बस्दै आएका सर्वसाधरण भोट हाल्नकै लागि गाउँ फर्किने क्रम सुरु भएको छ ।

आफ्नो मतधिकारको प्रयोग गर्न होस् या आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउन मतदाताहरु गाउँ फर्किन थालेका हुन् । काठमाडौँका बसपार्कका टिकट काउन्टरमा चाडपर्व सरह चहलपहल बढेको छ । निर्वाचन आउन एक साता मात्र बाँकी रहे पनि, पछि हुलमुलमा भन्दा अहिले नै गाउँ जान सहज हुने भन्दै सर्वसाधरण गाउँ जान थालेका हुन् । कतिपय जाने तयारीमा छन । गाउँ जाने मतदाताहरु कतिपयलाई राजनीतिक दल वा उम्मेदवारहरुले टिकट काटेर नै लगिरहेका छन भने कतिपय आफै स्वतस्फूर्त टिकट काटेर गाउँ जाँदै छन । गत निर्वाचनमा चुनेका व्यतिmले राम्रो काम गरेका कारण पनि भोट हाल्न जाने उर्जा थपेको कतिपय सर्वसाधरण बताउँछन ।

चुनावका लागि सर्वसाधरण धमाधम गाउँ घर फर्किन थाले पछि लामो समय कोरोनाले थलिएको लामो दुरीका यातायात व्यवसायीहरु हौसिएका छन । चाडपर्व सरह नै चाप बढेको छ । चुनाव प्रचारका लागि गाडीहरु गाउँमा नै होल्ड भएका कारण सेवा दिनै हम्मेहम्मे परिरहेको व्यवसायीहरुको भनाई छ । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । मताधिकार आम जनताको राजनीतिक तथा नैसर्गिक अधिकार समेत हो ।