मौसम

पश्चिमी क्षेत्रमा तीन दिन लु लाग्न सक्ने चेतावनी

योहो संवाददाता

नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च शतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ । यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने बताउनु भयो । उहाँका अनुसार ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ ।

डा.उप्रेतीले नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताउनु भयो । उहाँले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने प्रचुर सम्भावना रहेको बताउनु भयो ।

जल तथा मौसम विज्ञान विभागको रेकर्डमा नेपालमा शनिवारसम्म ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेशनको संख्या २७ पुगेको छ । डा.उप्रेतीले नेपालमा समय भन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताउनु भयो । उहाँले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताउनु भयो ।

डा.उप्रेतीले वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको बताउनु भयो । उहाँले अहिले औषत पृथ्वीको तापक्रम १.१ डिग्री रहेको र भारतले जारी गरेको १२२ वर्षको आँकडामा १.८६ डिग्री सेल्सियसले तापक्रम औषतमा बढेको देखिएको बताउनु भयो । उहाँले यो असर जलवायु परिवर्तनको कारण भएको बताउनु भयो ।

डा.उप्रेतीले अहिले अनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सीमित गरेर जान सुझाव दिनुभयो । दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्याधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिला लगायतका मानिसमा बढी असर गर्छ ।

अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक छ । लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उहाँको सुझाव छ ।

त्यस्तै धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उहाँले नेपालमा तापक्रमको सीमा तोकेर सोही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलीलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, कटन र पातलो लुगाहरु लगाउन उहाँको सुझाव छ ।