देश

भरतपुरको मेयरमा माओवादीले पैँचो तिर्ने बेला आयो: खनाल


काठमाडौँ — कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुन सक्ने बताएका छन् । गएको पालिका चुनावमा नेकपा माओवादी केन्द्र लाई सहयोग गरेको भन्दै उहाँले यस पटक कांग्रेसलाई सहयोग गर्न माओवादीलाई आग्रह गरेका छन् । सभापति खनालले भने समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो होइन । कार्यकर्तालाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर यहाँ मत खसाल भन्न सकिँदैन ।

यसले चुनावको नतिजा सोचेको भन्दा फरक आउन सक्छ । कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली कांग्रेस पार्टी नै धराशायी बन्छ । यसबारेमा नेताहरुले पुनर्विचार गर्नुपर्छ । नेपाली कांग्रेस पार्टीले भरतपुर महानगरपालिकाको मेयर नछोड्ने पनि बताए । २०७४ सालको चुनावमा आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब माओवादीले नेपाली कांग्रेसलाई तिर्नुपर्ने उहाँले जिकिर गर्नुभयो ।