काठमाडौा — नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ । २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट घिमिरे अध्यक्षका उम्मेदवार बनेका थिए । आज दिउँसो सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसनिकट घिमिरे अध्यक्ष निर्वाचित भएका हुन् । घिमिरेले ४४७४ मत ल्याएका छन् । घिमिरे कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय निर्वाचन समिति संयोजकबाट राजीनामा दिएर बारको निर्वाचनमा अध्यक्ष उठेका थिए ।
घिमिरे डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन् । निर्वाचन अधिकृत सानुराज पोखरेलले घिमिरेको प्यानल नै निर्वाचित भएको सेतोपाटीलाई बताए। घिमिरेले गतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीलाई हराएका हुन् । नेकपा एमालेनिकट अधिकारीले २४८२ मत ल्याएका थिए । यस्तै महासचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा भरतबहादुर राउत निर्वाचित भएका थिए। गत चैत १९ मा बारको निर्वाचन भए पनि गणना गर्न समय लागेको थियो ।


प्रतिक्रिया