देश

महाशिवरात्रीलाई लक्षित गर्दै फागुन १ देखि पशुपतिनाथ मन्दिर खोल्ने तयारी


काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीलाई लक्षित गरेर आराध्यदेव पशुपतिनाथको मन्दिर खोल्ने तयारी गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि सर्वसाधारणको प्रवेशमा रोक लगाएको मन्दिर संक्रमण घट्दै गएपछि फागुन १ गतेदेखि खुलाउने तयारी भएको हो ।

काठमाडौँ उपत्यकाका प्रमुखहरुको निर्णयसँगै बन्द गरिएको मन्दिर सरकारकै निर्देशन बमोजिम खुलाउन लागेको क्षेत्र विकाश कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । सरकारले फागुन १ गते देखि विद्यालय, होटल, रेष्टेराँलगायतका भीडभाड हुने स्थानहरु खुल्ले निर्णय गरेसँगै मन्दिर पनि खुलाउने तयारी भएको छ ।

उपत्यकाका तीन जिल्ला प्रमुखहरुले माघ ५ गते गरेको निर्णयसँगै पशुपति लगायतका प्रमुख मन्दिरहरु गुह्वेश्वरी, चन्द्रविनायक जस्ता मन्दिरमा भक्तजनका लागि प्रवेश निषेध गरिएको थियो ।

महाशिवरात्री आउन महिना दिनभन्दा कम समय बाँकी रहेको अवस्थामा कोषले त्यसका लागि पनि तयारी सुरु गरिसकेको छ ।