देश

कहिले खुल्छ श्रद्धालुका लागि पशुपतिनाथ मन्दिर ? (भिडियोसहित)


काठमाडौँ — कोरानाको तेस्रो लहरको जोखिमका कारण बन्द गरिएको पशुपतिनाथ मन्दिर पुन खोल्ने तयारी गरेको छ । पशुपति क्षेत्र विकास कोषले शिवरात्रीलाई मध्यनजर गर्दै मन्दिर खोल्न लागेको हो । यता सर्वसाधारण पनि सबैको आस्थाको केन्द्र रहेको पशुपतिनाथ मन्दिर यसरी बन्द राख्नु नहुने प्रतिक्रिया दिन्छन् ।

महामारीका कारण २०७६ चैत्र ११ गतेदेखि सरकारले लकडाउन गरेपछि पशुपतिनाथ मन्दिर बन्द गरिएको नौ महिनापछि २०७७ पुस १ गते खुलेको थियो । त्यस्तै गत वैशाखमा डेल्टा भेरियन्टसहितको कोरोना संक्रमण तीव्र भएपछि दोस्रोपटक पनि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको थियो । तीजपछि मात्र मन्दिरमा सर्वसाधारणले दर्शन गर्न पाएका थिए । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन तीव्र रुपमा फैलिन थालेपछि गत माघ ५ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर श्रद्धालुका लागि खुल्ने भएको छ ।

कोरोनाको तेस्रो लहरको जोखिमका कारण माघ मसान्तसम्म मन्दिर ,मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पुजा ध्यान र प्राथना मात्र गर्न पाउने प्रशासनको आदेश अनुसार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुका लागि प्रवेशमा रोक लगाएको थियो । पशुपति क्षेत्र विकास कोषले शिवरात्रीलाई मध्यनजर गर्दै मन्दिर खोल्ने तयारी भैरहेको जनाएको छ ।

सार्वजनिक यातायात, व्यापार–व्यवसायलगायत चहलपहल हुने स्थलमा भिडभाड भइरहदा मन्दिर मात्र बन्द गर्नुको अर्थ नरहेको सर्वसाधारणको पनि भनाइ छ । उनीहरुले भक्तजनहरुका लागि माघ र फागुन महिना महत्वपूर्ण रहेकोले मन्दिर खोल्नुपर्ने माग गरेका छन् ।

हाल काठमाडौंका मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लगि श्रद्धालुलाई प्रवेश गर्न दिइएको छैन । पशुपतिनाथ मन्दिर खुला गर्ने सरकारको निर्णयसँगै काठमाडौका अन्य मन्दिर पनि खुलाउनुपर्ने माग उठ्न थालेको छ ।