कोरोना विशेष

विद्यार्थीहरुले पाए फाइजर खोपको दोस्रो मात्रा, यी स्थानमा गएर लगाउन सकिने (भिडियोसहित)


काठमाडौँ – काठमाडौं महानगरपालिका भित्र रहेका विद्यालयमा पढ्ने विद्यार्थीले आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्राको खोप लगाउन सुरु भएको छ । फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुका लागि दोस्रो मात्रा खोप सुरु भएको हो ।

कोरोना संक्रमणबाट बचाउन सरकारले खोप अभियान गत वर्षको माघ १४ गतेबाट सुरु गरेको थियो । एक वर्षदेखि खोप अभियान निरन्तर जारी छ । नेपालमा १८ वर्ष भन्दा माथिको ७० प्रतिशतले खोप लगाइसकेका छन् । अहिले कोरोनाबाट बच्ने उपाय नै खोपलाई मानिएको छ ।

त्यस्तै सोमबारबाट काठमाडौं महानगरपालिका भित्र रहेका विद्यालयमा १२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीले दोस्रो मात्रा खोप लगाएका छन् । दोस्रो डोजको खोप लगाउन नपाउने होकि भनेर विद्यार्थीहरु चिन्तामा थिए । सरकारले खोप उपलब्ध गराउदा खुसि भएको उनीहरु बताउछन् । तर, यसरी खोप लगाएपछि विद्यालय पनि भौतिक रुपमा नै सञ्चालन हुनुपर्ने उनीहरुको माग छ ।

कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ । माघको दोस्रो साता उच्च विन्दुमा पुगेको महामारीको तेस्रो लहर अहीले क्रमिक रुपमा घटिरहेको छ । यहि मेसोमा विद्यालयमा यसरी खोप उपलब्ध हुदा शिक्षकहरु पनि खुसि भएका छन् । विद्यार्थीहरुले खोप लगाएपछि विद्यालयमा पनि कोरोना जोखिम कम हुने उनीहरु बताउछन् ।

नेपालमा १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित ३४ लाख रहेको र ती मध्ये ३० लाख बालबालिकाहरुले खोपको पहिलो मात्रा लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो उमेर समूहका बाँकी ४ लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ । शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।