देश

बसोवासको आधारमा लालपुर्जा माग गर्दै सुकुम्बासी मोर्चा नेपालले निकाल्यो र्‍याली


काठमाडौँ – बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको छ । सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सो माग गर्दै काठमाडौंको माईतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेको हो ।

कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक र्‍याली गरेको बताउनु भयो । उहाँले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठिवासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेतचरित्रको बिरुद्धमा ध्यानाकर्षण गराएको बताउनु भयो ।

अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाउनु भयो । उहाँले सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसतर्फ ध्यानाकर्षण गराएको र राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा भने बमोजिम सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरुको समस्या तत्काल सम्बोधन नगरे देशभर प्रदर्शन गर्ने चेतावनी समेत दिनुभयो ।