देश

सबैमा खोपको पहुँच पुर्याउन खोप कार्डमा अनिवार्य गरेको सरकारको प्रष्टिकरण


काठमाडौँ – सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु¥याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको प्रष्टयाउनु भएको हो ।

उहाँले यो नीति लिएपछि कोभिडविरुद्धको खोप लगाउनेहरुको भीड नै लाग्न सुरु गरेको पनि स्मरण गराउनु भयो । प्रवक्ता मिश्रले सरकारले लिएको यो नीति मिडियामा आएजस्तो नागरिकलाई खोपबाट बञ्चित गराउन वा कसैमाथि विभेद गर्न नभएको स्पष्ट पार्नुभयो ।

सार्वजनिक सेवा दिने ठाउँ नजिकै कोभिडविरुद्धको खोप केन्द्रको व्यवस्था गरेर सो सेवा लिनुअघि कोभिडविरुद्धको खोप लिन सहज हुने व्यवस्था सरकारले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ ।