देश

कुर्थाबाट जयनगरसम्मको रेल भाडा ७० रूपैयाँ, देउवा र मोदीले उद्घाटन गर्ने


काठमाडौँ – जनकपुरबासीले वर्षौदेखि प्रतिक्षा गरिरहेको रेल सेवा अब केही दिनमा नै सञ्चालनमा आउने भएको छ । रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालनमा आउन नसकेका कारण निरास बनेका जनकपुरबासीहरुको मुहारमा सेवा सञ्चालन हुने खबरले खुशी छाएको छ ।

धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवाको मिति ठ्याक्कै भन्न नसकेपनि फेब्रुअरीको दोस्रो वा तेस्रो साताबाट सेवा प्रदान गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । यस्तो खबरले जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिका सहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो। केही दिनअघि कम्पनीले रेलको परीक्षण गरेको थियो ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरी नियमित रुपमा रेल सञ्चालनमा आउने छ ।

रेल्वे कम्पनीका अनुसार रेल चलाउन कुनै समस्या नभएको र अब केबल औपचारिक उद्घाटन गर्नमात्र बाँकी रहेके बताएको छ । रेल चलेपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म सामान्य सिटमा रु ७० र एसी सिटमा रु ३०० भाडा निर्धारण गरिएको छ।

२०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ।