राजनीति

राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने एमालेको निर्णय


काठमाडौँ — नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई कारबाही गर्ने भएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले निर्वाचनमा अन्तर्घात गर्नेहरुको छानबिन गरी कारबाही गर्न निर्देशन दिइएको एक नेताले बताए ।

उनका अनुसार बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ। त्यस्तै प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको बताए।

‘स्थानीय निर्वाचनमा केन्द्रीत भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ,’ उनले भने । त्यस्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरिएको उनले बताए ।