राजनीति

गठबन्धन पूरै समय टिक्छ : माधव नेपाल


काठमाडौँ — सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गर्नुभएको छ ।

बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन नटुट्ने दाबी गरेका हुन् ।

उनले गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिस्पर्धा गर्ने बताए । अध्यक्ष नेपालले आज (बुधबार) प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिबद्धता भएको बताए ।

अध्यक्ष नेपालले भने, ‘हामी जनताका निम्ति राजनीति गरेर समाजवादको यात्रामा अघि बढिरहेका छौँ। दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगराउनुस् । यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजेपनि गठबन्धन टुट्नेवाला छैन ।’

उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो छलफल भइरहेको पनि प्रष्ट पारे। छलफलमा पत्रपत्रिकामा आएको समाचारको बारेमा पनि सत्यतथ्य कुरा के हो भनेर पनि कुराकानी भएको उनले बताए ।

मिडियामा सबै मनगढन्ते कुराहरु धेरै आएका र सबै कुरामा कुनै पनि सत्यता नभएको र गठबन्धनलाई बलियो बनाएर लैजाने विषयमा प्रतिबद्धता जनाएको उनले बताए ।

उनले भने, ‘जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर सबैसँग राम्रो सम्बन्ध बढाउने, हामीले सोच, नीति अवलम्वन गर्दै आएका छौँ । हामीले एकपछि अर्को महत्वपूर्ण सफलता पनि हासिल गरिरहेका छौँ । संविधान जोगाएका छौँ। लोकतन्त्र बचाएका छौँ । संघीयताको रक्षा गरेका छौँ। जेठमा स्थानीय चुनाव हुन गइरहेको छ । त्यसमा पनि गठबन्धनका दलहरु मिलेर अघि बढ्नेछ ।’

अहिले गठबन्धन तोड्न अनेक प्रयास भइरहेका भए पनि र उनीहरुको गलत मनशाय सफल हुन नदिने पनि अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरूपहरु देख्‍न पाइने बताए ।

उनले राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको र विजयको यात्रा आगामी वर्षको मंसिर महिनामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म कायमै रहने बताए ।