देश

मन्त्री आलेको अर्को एक्सन, पशुपतिमा अतिक्रमित टहरा हटाउन निर्देशन (भिडियोसहित)


काठमाडौँ – एकपछि अर्को एक्सनमा उत्रिएका पर्यटनमन्त्री प्रेम आलेले हिजो मात्र पशुपती क्षेत्रको अनुगमन गरे । अनुगमनका पश्चात उनले मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् । तर मन्त्रीको यो निर्देशनपछि त्यहाँका व्यापारीहरु भने आक्रोशित बनेका छन् ।

जति पटक मन्त्री परिवर्तन भए त्यति पटक नै पशुपति मन्दिर क्षेत्रमा रहेका टहराहरु हटाउन मन्त्रीहरुले निर्देशन दिदै आएका थिए । तर, त्यहाँका टहरा हटाउन भने कुनै मन्त्रीले सकेनन् । पशुपति मन्दिर क्षेत्रमा रहेका टहरामा लामो समय देखि स्थानियले व्यापार गर्दै आएका छन् । उनीहरुले पशुपति विकास कोषसंग सम्झौता गरेर नै त्यहाँ मन्दिरमा चाहिने सामानहरुको व्यापार गर्दै आएका छन् । उनीहरुको दैनिकी नै त्यहि पसलबाट चलेको छ ।

तर, फेरि पनि आइतबार पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमन गर्दै मन्त्री प्रेम आलेले त्यस क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् । मन्त्रीको निर्देशन कार्यान्वन नभए कानुनी प्रक्रियामा जाने पशुपती क्षेत्र विकास कोषले प्रष्ट पारेको छ ।

यता व्यापारीहरुले भने मन्त्रीको ठाडो निर्देशनबाट आक्रोशित बनेका छन् । २ सय भन्दा बढि टहरामा व्यापार गर्दै आएका उनीहरुले आफूलाई विकल्प दिनुपर्ने माग गर्दै आएका छन । अर्को ठाउँमा उचित व्यवस्थापन नगरेसम्म उनीहरु टहरा हटाउन तयार छैनन् । जर्वजस्ती टहरा हटाइएमा आत्महत्या गर्नेसम्मको चेतावनी उनीहरुले दिएका छन् ।

हुन त मन्त्री ग्राउन्डमै पुगेर त्यहा भईरहेको अनियमितता विरुद्ध कदम चाल्नु आफैमा सकारात्मक कुरा हो । तर मन्दिरको सौन्दर्यता बढाउनेजस्ता स–साना काम भने पशुपति विकास कोष आफैले तदारुकताका साथ गर्नुपर्ने हो । त्यसका लागि सम्बन्धित निकायलाई जिम्मेबारी दिने भन्दा मन्त्री आफै कुद्नुलाई सस्तो लोकप्रियताको लालसा देखिएको कतिपयको आरोप छ । कतिपय विषयमा मन्त्रीहरुको निर्देशन निर्देशनमै सिमित रहने गरेका छन् । जुन प्रवृती पशुपती क्षेत्रमा समेत दोहोरिने हो कि भन्ने आशंका व्याप्त छ ।