बिजनेस

मधेश प्रदेशको विकास खर्च नाजुक, ६ महिनामा आठ प्रतिशत पनि भएन खर्च (भिडियोसहित)


काठमाडौँ – मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्च ५ प्रतिशत भन्दा कम रहेको छ । प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँड तथा रकमान्तर समेत नभएकाले चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा माथि हुन नसकेको हो ।

मधेश प्रदेश सरकारले बजेट समीक्षा गरेर बजेट खर्चलाई गति दिन सबै मन्त्रालयहरुलाई ताकेता गरेको छ । तर, मन्त्रालयहरुले विकास बजेट खर्च बढाउन चासो नदेखाउँदा अधिकांश मन्त्रालयको बजेट खर्चको अवस्था नाजुक देखिएको छ । मधेश प्रदेश सरकारले बजेट भाषणमार्फत् विनियोजित बजेट खर्च गर्न नसक्ने तर अर्थ मन्त्रालयबाट बजेट थप्न दबाब बढ्ने भएकाले पनि समस्या आएको अर्थ मन्त्रालय बताउँछ ।

यता मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा कुनै पनि मन्त्रालयको पुँजीगत खर्च मात्रै नभएर समग्र बजेट खर्च नै सन्तोषजन नभएको स्वीकार गरेको छ ।

यता, भौतिक पूर्वाधार विकास मन्त्रालयले भने नेपाली काङ्ग्रेसको महाधिवेशन लगायतमा व्यस्त भएकाले लक्ष्य अनुसार पुँजीगत खर्च गर्न नसकिएको बताएको छ । सरकारले विस्तारै बजेट खर्च गर्ने गति बढाउदै लगेकोले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च हुने दाबी गरिएको छ ।

अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार सबै भन्दा कम बजेट खर्च मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गरेको जनाएको छ । मुख्यमन्त्री कार्यालयद्वारा संचालन हुने योजनाहरुको काम अहिलेसम्म पनि शुरु नै भएका छैन । चालु आर्थिक वर्षमा प्रदेशसभाको पुँजीगत तर्फको बजेट एक करोड ३ लाख विनियोजन भएकोमा खर्च भने शुन्य रहेको छ ।