राजनीति

सत्ता गठबन्धन फुटाउने एमालेको रणनीति, एक होलान देउवा–ओली ? (भिडियोसहित)


काठमाडौँ – पछिल्लो समय सदन अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचनको मिति घोषणा गर्न दवाव दिन भन्दै सडक आन्दोलनको तयारीमा छ । निर्वाचनको मिति यथासिघ्र घोषणा नभए आधिवेहरी नै ल्याउने चेतावनी नै दिएको एमालेको पछिल्लो कदम पनि गठबन्धन फुटाउने तर्फ नै केन्द्रित देखिएको छ ।

विभिन्न माग राखेर संसद अवरुद्ध गर्नमा रेकर्ड नै बनाएको एमालेले अव एमसीसीमा चलखेल गरेर गठबन्धन फुटाउने रणनीतिका साथ सडक पनि अवरोध गर्ने तयारीमा छ । एमालेको २२ जनवर्गीय संगठनहरू आबद्ध मोर्चा संयन्त्रको शनिबारको बैठकले स्थानीय तहको चुनाव घोषणाका लागि सोमबारसम्म सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार र सोमबारभित्र जिल्लाहरूमा समय तय गरेर जिल्ला सदरमुकाम कार्यालय घेराउ र ज्ञापनपत्र बुझाउनेसहितका कार्यक्रम एमालेले सार्वजनिक गरेको छ ।

निर्वाचनको मिति तत्काल घोषणा नभए आधिवेहरी नै सिर्जना गर्ने एमालेलेको चेतावनी छ । तर एमालेको सडक आन्दोलन भने यस अघि बाटै जारी सत्ता गठबन्धन फुटाउने रणनितिक योजनामै केन्द्रित देखिएको छ । भन्नलाई निर्वाचनको मिति घोषणाका लागि दवाव भनिएपनि गठबन्धन फुटाउन फलाम तातेको वेला घन हान्ने रणनितिमा एमाले लागेको हो ।

सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन जेठभित्र गर्न तयार भएपछि यतिवेला गठबन्धनको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । कांग्रेसका केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ताहरु गठबन्धनको पक्षमा नदेखिएका कारण स्थानीय तहको चुनावमा गठबन्धन हुने संभावना कम छ । यहि कारण मिति चाडो घोषणा भए गठबन्धनमा तलमाथि पार्न सकिने विश्वासमा एमालेले छ ।

अर्कातर्फ जेठमै चुनाव गर्नका लागि सहमति जुटाउने हो भने ऐन संशोधनमा सहमति जुटाउनुपर्ने हुन्छ । तर एमालेले संसद बन्द गरिरहने हो भने ऐन संशोधन गर्न समस्या हुन्छ र चुनाव गर्न ढिला हुने देखिन्छ । जसले एमालेमाथि संसद खुलाउनुपर्ने बाध्यता बढ्दै गएको छ । अर्कातर्फ संसद खुले एमाले अध्यक्ष केपी ओलीसँग सहमति जुटाएर प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन सक्ने सम्भावना छ । यसरी आफै रणनितिमाथि समस्या हुन सक्ने तर त्यसको फाईदा पनि लिनसक्ने अवस्था सिर्जना गर्न एमालेले सडक आन्दोलनको अर्को अश्त्र प्रहार गरेको छ ।

हुन त एमालेले आफू एक्लै निर्वाचनको सामना गर्न पर्याप्त रहेको बताँउदै आएको छ । तर भित्रभित्रै भने कमजोर भईसकेको सत्यताबाट भने वेखबर छैन । फलत ः गठबन्धमा फाटो ल्याए मात्र आफू ठूलो दल बन्न सक्ने यथार्थलाई मनन गर्दै त्यसतर्फ एमालेका गतिविधि केन्द्रीत छन् ।

यसैपनि कमजोर धरातलमा बनेको गठबन्धन धेरै टिक्दैन भन्ने विश्वासमा रहेको एमाले त्यसमाथि चौतर्फी प्रहार गरिरहेको छ । यद्यपी कांग्रेसका रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौला जस्ता केहि नेताहरुले आफ्नो आडभरोशाका लागि गठबन्धन बचाईराख्न पहल गरिरहेका छन । तर अव एमसीसी र चुनावको अश्त्र एकैचोटि प्रहार गरेको एमालले सडक आन्दोलन पनि थप गरेपछि भने गठबन्धन संकटमा परेकोे छ ।