राजनीति

स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नु पर्छ : गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरु संविधानसम्मत् नभएको बताउनुभयो ।

कानून संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत् नहुने भन्दै उहाँले संविधानसम्मत् नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवालाई आफुहरुले सो कुरा राखिसकेको उहाँले उल्लेख गर्नुभयो ।

स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने विषय संविधानसम्मत नभएकाले कांग्रेसले यसलाई बोक्न नहुने पनि महामन्त्री थापाले बताए । ‘यो संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनै पनि कारण छैन । बोक्नु हुँदैन भन्ने कुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौँ । र गठबन्धनका नेताहरूले पनि यो कुरा बुझ्नु हुन्छ र संविधानसँग बाझिने गरी कुनै पनि काम गठबन्धनले गर्दैन भन्ने कुराको मलाई विश्वास छ ।’

आफूहरूले उठाएको कुरा सभापति देउवाले गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए । शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफुले अपेक्षा गरेको उहाँको भनाई छ ।