राजनीति

लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न यातायातमन्त्रीको निर्देशन


काठमाडौँ – यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरुले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए ।

मन्त्री दाहालले तत्काल यातायात कार्यालयबाट यो सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर भए पनि डिजिलाइजेसन गर्नुपर्ने बताए । बिचौलियाहरुका कारण इमान्दार कर्मचारीहरुले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराए । उनले कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउने बताए।