कोरोना विशेष

महामारी नियन्त्रणमा तीन तहका सरकारबीच नै समन्वयनको अभाव, देउवाले मेसै पाएनन् (भिडियोसहित)


काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्यामा दिनप्रतिदिन नयाँ रेकर्ड कायम हुँदै गएको छ । तर महामारी नियन्त्रणमा भने तीनै तहका सरकारले प्रभावकारी भूमिका खेल्न सकेका छैनन् । बरु उनीहरु एक—अर्कालाई आरोप प्रत्यारोप लगाउँनमै व्यस्त छन् ।

नेपालमा कोरोना संक्रमितको संख्यामा दिनप्रतिदिन नयाँ रेकर्ड कायम भईरहेको छ । जसमा काठमाडौं उपत्यकामा मात्रै दैनीक ६ हजार बढी संक्रमित थपिरहेका छन् । बढ्दो संक्रमणदरको तथ्याङ्कले नै देखाउँछ काठमाडौं कोरोना संक्रमणको हटस्पट बनिरहेको छ । तर महामारी नियन्त्रणमा भने स्थानीय सरकारहरु भूमिकाहिन देखिएका छन् । यसभन्दा पहिले पहिलो र दोस्रो लहरमा स्वास्थ्य सचेतना अभियानमा सक्रिय भएको काठमाडौं मेयर फोरम अहिले चिरनिन्द्रा छ । सोही फोरमका अध्यक्ष तथा काठमाडौं महानगरका मेयर भने महामारी नियन्त्रणमा केन्द्र सरकारले वेवास्ता गरेकै कारण प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आरोप—प्रत्यारोपमै व्यस्त छन् ।

हुनत संविधानले नै तीन तहका सरकारबीच समन्वय र सहकार्यको परिकल्पना गरेको छ । तर महामारीजस्तो विकराल समस्यामा पनि सबै आ–आफ्नो तरिकाबाट अघि बढ्न नसक्दा समस्या समाधानउन्मुख देखिदैन् । यता शुक्रवार मात्रै पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै महामारी नियन्त्रमा सरकारले उच्च प्राथमिकता दिएको बताए । तर सरकारको भूमिकाबाट स्थानीय सरकार मात्रै होइन आम नागरिक पनि दिक्क छन् ।

आम नागरिकलाई सहज खोप दिलाउन नसकेको सरकारले सार्वजनिक ठाउँमा खोपकार्ड अनिवार्य गरेको छ । अहिले पनि खोप लगाउन तोकिएका स्थानमा घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । खोप सहज ढङ्गले दिलाउँन नसकेको सरकारले सार्वजनिक ठाउँमा अनिवार्य गरेपछि नागरिक भने आक्रोशित छन् । यद्दपी प्रदेश सरकार भने आफ्नो भूमिका प्रति सन्तुष्ट देखिन्छन् ।

त्यसोत देउवा नेतृत्वको सरकारले आफ्नो ६ महिना कार्यकाल गुजारीसकेको छ । यद्दपी महामारीका बेला सर्वपक्षीय छलफल र सबैलाई एकजुट बढाउनुपर्नेमा सरकार भने महामारी नियन्त्रण भन्दा चुनाव केन्द्रित गतिविधिमा व्यस्त छ । प्रतिपक्षी दलले पनि सरकारले आफ्नो ६ महिनामा महामारीलाई मजाक नै बनाएको आरोप लगाउँदै आएको छ ।

परिणामतः पछिल्लो १५ दिनको अवधिमै ५० हजार बढी संक्रमित थपिएका छन् । महामारी नियन्त्रणमा तीनै तहका सरकारले प्रभावकारी भूमिका खेल्न नसक्दा आम नागरिक भने कोरोना महामारी र त्रासको चपेटामा परेका छन् ।