कोरोना विशेष

बुस्टर डोज खोप : ललितपुरमा आजबाट, काठमाडौँमा सोमबार र भक्तपुरमा मंगलबारबाट


काठमाडौँ — काठमाडौँ उपत्यकाको ललितपुर जिल्लामा आइतबारबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ । काठमाडौँ जिल्लामा भने सोमबारबाट र भक्तपुरमा मंगलबारबाट मात्रै खोप दिन थालिने बताइएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार आइतबार पाटन अस्पतालबाट बुस्टर डोज लगाउन सुरु गरिएको हो । यस्तै, काठमाडौँबाट भने सोमबारबाट मात्रै बुस्टर डोज लगाउन सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागर घिमिरेका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २ गतेदेखि फ्रन्टलाइनमा काम गर्नेहरूलाई बुस्टर दिने घोषणा गरेपनि केही प्रवाधिक तयारी गर्नुपर्ने भएकाले आइतबार बुस्टर दिन नसकिएको हो ।

काठमाडौँ उपत्यकामा १८ स्थानबाट खोप दिने तयारी स्वास्थ्य कार्यालयले गरेको छ । साथै, भक्तपुरमा भने मंगलबारबाट खोप दिन थालिने छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार केन्द्रबाट खोप ल्याउने कार्य भइरहेकाले मंगलबारबाट मात्रै खोप दिन लागिएको हो । उनका अनुसार भक्तापुरमा हरेक स्थानीय तह तथा स्वास्थ्य कार्यालयहरूबाट खोप लगाउने व्यवस्था मिलाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार मन्त्री स्तरीय निर्णय गरेर माघको २ गतेदेखि अग्रपंतिमा खटिने व्यक्तिहरूलाई र १४ गतेदेखि ६० वर्ष र माथिका नगरिकहरूलाई कोभिड(१९ विरुद्धको बुस्टर डोज दिने निर्णय भएको सार्वजनिक गरेको थियो ।