काठमाडौँ – म्यानमार सेनाले गत जुलाइमा ४० जना नागरिकको सामूहिक हत्या गरेको प्रमाण फेला परेको छ । बीबीसीको स्थलगत रिपोर्टिङमा उक्त प्रमाण भेटिएको हो । प्रत्यदर्शी र उक्त घटनामा बाँच्न सफल केही व्यक्तिहरुले दिएको जानकारीअनुसार १७ वर्ष उमेरका सैनिकहरुले गाउँलेलाई घेरेर उक्त नरसंहार गरेका थिए ।
भिडिओ फुटेज र केही तस्बिर हेर्दा गाउँलेलाई नृशंसा कूटपिट गरेर हत्या गरिएको र खाडलमा पुरेको देखिन्छ । त्यहाँको काउनी सहरका चार अलग ठाउँमा गत जुलाइमा यस्तो घटना भएको हो । गत फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा नियन्त्रणमा लिएपछि त्यसविरुद्ध चर्किएको विरोधको सजाय दिन यस्तो सामूहिक हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । यसैबीच गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी वर्माकी नेतृ आङ सान सूची कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् ।
आफूमाथि लागेका आरोपबारे सुनुवाइका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सूचीले सेतो टप र खैरो लुगी लगाएकी थिइन् । सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको र कोभिडसम्बन्धी नियम पालना नगरेको आरोपमा त्यहाँको अदालतले उनलाई दुई वर्ष जेल सजाय तोकेको छ ।


प्रतिक्रिया