अन्तर्राष्ट्रिय

विश्व युद्धको बढ्यो खतरा, अमेरिका र चीन मुस्लिम भिडाउँदै, आतंकवादीको संज्ञामा हतियारको व्यापार (भिडियोसहित)


काठमाडौँ— पाकिस्तान र इरानबीचको तनाव झन चर्किंदै गएको छ । लाल सागरमा हुथी विद्रोही समूह र अमेरिका, बेलायतबीचको संघर्षले विश्व राजनीति थप भड्किने संशय बढेको छ ।

दुई मुस्लिम मुलुक इरान र पाकिस्तान केही दिनदेखि आपसमा भिडिरहेका छन् । पाकिस्तानमा रहेको आतङ्कवादी सङ्गठन जैश अल–अदल समूहलाई लक्षित गर्दै इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि सुरु भएको द्वन्द्व थप चिर्किंदै गएको छ । बिहीबार पाकिस्तानले इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा आतंककारीहरुको आश्रयस्थल लक्षित गर्दै जवाफी हमला गरेपछि द्वन्द्व थप चर्किएको छ । पाकिस्तानको हमालामा परी चार बालबालिकासहित ९ जनाको मृत्यु भएको तेहरानले जनाएको छ । पाकिस्तानमा दुई बालबालिकासहित दुई छिमेकी मुलुकबीचको द्वन्द्वमा परी हालसम्म ११ जनाको मृत्यु भएको छ । पाकिस्तानले तेहरानस्थित आफ्नो राजदूत फिर्ता बोलाई सकेका छ भने इरानका राजदूतलाई केहि दिन पाकिस्तान आउन रोक लगाएको छ ।

इरान विरोधी आतंकवादी विरुद्ध सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण गर्दै आईरहेको इरानले आतंकवादीलाई लक्षित गर्दै पाकिस्तानमा समेत हमला गरेको हो । इरान र पाकिस्तानबीच तनाव बढी रहेकै बेला लाल सागरमा जारी द्वन्द्व थप चर्किएको छ । विद्रोहीको कब्जामा रहेको यमनी क्षेत्रमा अमेरिका र बेलायतले गरेको हवाई आक्रमणले ‘रेड सी’ क्षेत्रमा तनाव बढेको छ । ‘रेड सी’ क्षेत्रमा इरान समर्थित यमनी हुथी विद्रोहीहरूले इजरायलसँग सम्बन्धित पानीजहाजमा आक्रमण गरिरहेको छ । जनवरी १२ मा अमेरिकी र बेलायती सेनाले विद्रोहीको कब्जामा रहेको यमनका हुथी रहेका १६ स्थान क्षेप्यास्त्र प्रहार गरेको थियो । गत अक्टोबरदेखि द्वन्द्वरत इजरायल हमासबीचको युद्धको असर अहिले रेड सी संकटमा पारेको छ । हुथी विद्रोहीले इजरायलविरुद्ध युद्ध लडिरहेको हमासलाई सघाउँदै आएको छ ।

विश्वव्यापी समुद्री व्यापारको लगभग १२ प्रतिशत कारोबारका लागि आवागमन हुने यो क्षेत्रमा द्वन्द्व बढेपछि यसको असर भारतसहित दक्षिण एसियामा नै पर्ने देखिन्छ । अझ पाकिस्तान र इरानबीचको द्वन्द्वले यसलाई थप बढवा संकेत मिलेको छ । यस्तै सिरिया र जोर्डनबीच पनि तनाव बढ्न थालेको छ । सिरियाको स्वीडामा जोर्डनले हवाई आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ। जोर्डनले सिरिया–जोर्डन सीमा क्षेत्रस्थित स्वीडामा लागुऔषध तस्करलाई लक्षित गर्दै आएको छ । मुस्लिम मुलुकहरुमा रहेका आतंकवादी समूह पश्चिमा मुलुकका लागि टाउको दुखाई बन्दै आएका छन् । विगतमा पश्चिमा मुलुकविरुद्ध भिड्दै आएको विगतको इतिहास रहे पनि अहिले आतंकवादीलाई देखाउँदै मुस्लिम मुलुकहरु नै एक–अर्कामा भिड्न थालेका छन् ।

अर्कोतर्फ रुस–युक्रेनले युद्ध र जितलाई आफ्नो प्रतिष्ठा बनाई रहेका छन् । जहाँ अमेरिका, चीन जस्ता ठूला शक्ति राष्ट्रहरुले मलजल गर्दै आएका छन् । सहनुभूति र युद्ध लड्नसमेत सहयोग गर्दै आएका छन् । जुन समग्र विश्व राजनीतिका लागि खतराको संकेतको रुपमा देखिँदै गएको छ । विश्वमा युद्धग्रस्त मुलुकको संख्या थपिँदै छ । दैनिक जसो नै हमला र आक्रमण बढ्दै गएका छन् । युद्ध–आक्रमणमै परी अकालमा ज्यान गुमाउनेको संख्यासमेत बढ्दो छ । शक्ति राष्ट्रहरुको स्वार्थमा निमुखा सर्वसाधरणले ज्यान गुमाउने क्रम बढ्दै गएको छ भने ठूला शक्ति राष्ट्रको जुंगाको लडाइले तेस्रो विश्वयुद्ध कै खतरा निम्त्याउने सम्भावना बढ्दै गएको संकेत गरेको छ ।