देश

काठमाडौँमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने


काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मंगलबार सूचना जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ । देउसी भैलो खेल्दा पनि कोभिड–१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत सूचनामा उल्लेख छ ।

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी देउसी भैलो, नाचगान लगायत कार्यहरू राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

त्यस्तै प्रशासनले पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न र नगराउन पनि भनेको छ ।