खेलकुद

ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ गोल अन्तरले पराजित


काठमाडौँ – नेपालले ओमानसँगको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार व्यहोरेको छ । कतारको दोहामा गए राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो ।


कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा २–१ को अग्रता बनाएको ओमानले दोस्रो हाफमा एकतर्फी गोल गरेको थियो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।

नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।।
०००