खेलकुद

ईपीएलमा आज दुई खेल हुँदै, करणले सोमपालको सामना गर्दा, शरदसँग विनोद भिड्ने


काठमाडौँ हिजो देखि राजधानीमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आइतबार दुई दुई खेलहरु हुँदै छ । त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो दिन आज हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । करण केसीको कप्तानीका रहेको विराटनगर र सोमपाल कामीको कप्तानीमा रहेको चितवनबीचको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ ।

दुवै टिम जित सहित प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छ । यी दुईको मित्रताका बारेमा सबै नेपाली क्रिकेट प्रेमीहरु अवगत नै छ । मैदानभित्रको माहोलमा यो मित्रता कस्तो रुपमा देख्न पाईन्छ त्यो पनि हेर्न लायक नै हुनेछ । दुवै टिममा विदेशी खेलाडीलाई हेर्ने हो भने पनि प्रतिष्पर्धा निकै उत्कृष्ट हुने अनुमान गर्न सकिन्छ । चितवन टाइगर्समा अफगानिस्तानका मोहम्मद शाहजाद र करीम जनत, श्रीलंकाका सेक्कुगे प्रसन्ना र मलेसियाका भीरनदिप सिंह रहेका छन् । यता विराटनगरमा जिम्बाब्वेका सिकन्दर राजा, क्यानडाका रायन पठान, वेस्टइन्डिजका चन्दं्रपाल हेमराज र श्रीलंकाका दिलशान मुनाविरा रहेका छन् । करणले घरेलु क्रिकेटमा दोस्रो पटक कप्तानी गर्न लागेका हुन् ।

आज हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजको खेल दिउँसो १ः३० मा सुरु हुनेछ । पोखराको कप्तानी विनोद भण्डारीले गर्दैछन् भने शरद भेषावकरको कप्तानीमा भैरहवा मैदान उत्रदै छ ।
भैरहवालाई घाईते बाघको रुपमा हेरिएको छ । किनभने भैरहवा साविकको उपविजेता पनि हो । त्यसैले गत सिजन उपाधि जित्नबाट बञ्चित भएको भैरहवा अझ आक्रमक देखिन सक्छ । यद्यपी दुवै टोली जितको लक्ष्यसहिज मैदान उत्रने छन् । भैरहवामा विदेशी खेलाडीहरुमा बंगलादेशका तामिम इक्बाल, श्रीलंकाका उपुल थारांगा, धम्मिका प्रशाद र शर्भिन मुनिएन्डी रहेका छन् । यता, पोखरामा वेस्टइन्डिजका केसरिक् विलियम्स, श्रीलंकाका असेला गुनरत्ने, सहान अरचिगे र दक्षिण अफ्रिकाका रिचर्ड लेभी रहेका छन् ।