काठमाडौँ – गत मंगलबार बुढानीलकण्ठ नगरपालिका–१२, कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षे बालक अझै फेला परेका छैनन् । बेपत्ता भएको बालकलाई स्थानियबासी नेपाल प्रहरी सशस्त्र प्रहरी, महानगर प्रहरीलगायतले खोजी गरिरहेका छन् । यता स्थानीयबासी भने सम्बन्धित निकायको लापरबार्हीले गर्दा यस्तो दुर्घटना हुन पुगेको बताउछन् ।
कपन क्षेत्रमा गत मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो। काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने मिलनचोकको सडकको बीचबाटोमा ढल छ । त्यहाँ हेर्दा हेर्दै १० वर्षिय बालक उज्जल विश्वकर्मा ढलमा खसेर बेपत्ता भए । तर, पाँच दिन हुदाँ पनि उनलाई भेट्न सकिएको छैन । उज्ववल ११ महिनाको हुँदा आमाले छोडिन् त्यही बेलादेखि बुवा पनि साथमा छैनन् । बुवा कहाँ छन्, कसैलाई थाहा छैनन् । उज्ववललाई हजुरबा–हजुरआमा र फुपुले हुर्काएका हुन् । सुकुम्वासी वस्तिमा हजुरबा–हजुरआमा बस्छन् । फुपु अनिता विश्वकर्मा कोइराला कपनको खरिबोटमा बस्छिन् । कपनको खरिबोटस्थित फुपू अनिता कोइरालाको घरमा बसिरहेका उज्ज्वल हजुरबुवासँग साततलेमा रहेको घरमा फर्कंदै थिए । तर, घर पुग्न नपाई उनी ढलमा खस्न पुगे ।
मुसलधारे वर्षा भएपछि रमाउँदै आइरहेका उज्ज्वल मुख नछोपिएको ढलमा खसेर बेपत्ता भएको पत्यक्षदर्शी बताउछन् । कपन क्षेत्रको बाटो बिग्रिएको चार वर्ष भइसकेको र केही महिनाअघि ढल राखेको क्षेत्रमा ढलान गर्ने काम भइरहेको थियो । वर्षायाममा काम हुन नसकेपछि त्यो ढल नछोपी धराप पारेर छाडिएको स्थानियबासीहरु बताउछन् । स्थानीय तहलाई जानकारी गराउँदा समेत बेवास्ता गरेपछि यस्तो घट्ना हुन पुगेको उनीहरु बताउछन् । महानगरीय प्रहरी प्रभाग कपन र विपद् व्यवस्थापनलगायत प्रहरी टोलीले निरन्तर उज्ज्वलको खोजी गरे पनि फेला नपरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्की बताउछन् ।
सडकमा विकास निर्माणका काम अधुरै छाड्ने र त्यहाँ संकेत चिह्नसमेत नराख्ने प्रवृत्तिले गर्दा यस्ता घट्ना घटिरहेका छन् । यो सब लापरबार्हीकारणले नै बालकले ज्यान गुमाउनु परेको नेपाली कांग्रेस वडा न. १० एकाई सभापति शेरबहादुर श्रेष्ठ बताउछन् ।
काठमाडौंवासीका लागि यो कारुणिक घटना नौलो होइन । यस्ता घट्ना पटकपटक घटिरहेका छन् । तर, पनि विकास निर्माणको काम गर्ने सरकारी निकायको लापरबाहीले गर्दा सर्वसाधारणले अकालमा ज्यान गुमाउने क्रम रोकिएको छैन । सडक, खानेपानी, ढल तथा त्यससँग सम्बद्ध विकासका काम गर्दा ठाउँठाउँमा ज्यानमारा धराप खाल्डाहरू यथावत रहँदा त्यसमै खसेर धेरैले ज्यान गुमाएका छन् । यस्ता विषयमा सरकार गम्भिर बन्न सकेको छैन ।
प्रतिक्रिया