राजनीति

गठबन्धनको केन्द्रदेखि स्थानीय तहसम्म समन्वय हुन्छ : माधव नेपाल


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्र देखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले बिहीवार पार्टी केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दै सत्तारुढ पाँच दलीय गठबन्धनको बिचमा सम्बन्ध सुमधुर रहेको बताउनुभएको छ । उहाँले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले गठबन्धनकाबीचमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडी बढ्ने तयारी भइरहेको जानकारी दिनुभयो । गठबन्धनलाई आगामी चुनावभन्दा पछिसम्म निरन्तरता दिइने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ‘सरकारमा सहभागी दलहरुका नेताहरुका बिचमा निकै राम्रो सुमधुर सम्बन्ध छ । बाहिर कसैले कुनै हल्ला फैलाउन खोजेतापनि यो गठबन्धन टुट्छ, फुट्छ, यो सरकार ढल्छ भन्ने कुरामा कुनै सत्यता छैन । छिट्टै हामीले यसको संरचना बनाइरहेका छौँ । त्यो संरचना केन्द्रमा बन्नेछ ।

दस्तावेज पास गर्नेछ । यसको नामाकरण पनि गर्नेछ । त्यसको प्रदेश, जिल्ला र पालिकामा पाँचै दलको बिचमा समन्वय संयन्त्र बनाउनेछौँ । सहकार्य पनि गर्दै जानेछौँ । आगामी चुनावमा हामी, चनुाव सम्म र चुनावपश्चात पनि हामी यो गठबन्धनलाई निरन्तरता दिन चाहान्छौँ ।’

अध्यक्ष नेपालले यो गठबन्धनको मुल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अगाडी बढ्ने नीति रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नभएको पनि स्पष्ट पार्नुभयो । पार्टीको जग बलियो भएको र कार्यकर्ताहरुको व्यापक समर्थन भएका कारण संगठन फैलिदै गएको पनि उहाँको भनाई छ ।