राजनीति

कांग्रेस निर्वाचनको तालिका हेरफेर, दसैंअघि पालिका अधिवेशनमात्रै


काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी बैठकले असोज नौं गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो सहमति जुटाएको हो । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’
यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ ।

‘९ गतेका लागि निर्धारित पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ । पूर्वनिर्धारित समयअनुसार नै पालिकाहरुको अधिवेशन हुनेछ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,’ ९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुंग्याउने विषय छ । त्यसलाई टुंग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नछ ।’