देश

सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिकको पिसाब जाँच गर्ने


काठमाडौँ – सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ । सरकारले ४० वर्ष उमेर समूह माथिका ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको हो । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिनुभयो ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताउनुभयो । उहाँले ४० बर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिनुभयो ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको बताउँदै मिर्गौला फेल भएकाहरुलाई डायलासिस गर्न प्रयाप्त मेसिन नरहेको बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा डायलासिस सेन्टर र प्रत्येक प्रदेशमा मिर्गौला प्रत्यारोपण अस्पताल बनाउन आवश्यक रहेको बताउनुभयो ।