राजनीति

के अब माओवादीमा नेतृत्व परिवर्तन होला त ? (भिडियो)


काठमाडौँ – नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितीसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्ने निर्णय गरेको छ । जबकि तीन दशकदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमैै पार्टीको नेतृत्व गर्दै आएका छन् । के अब माओवादीमा नेतृत्व परिवर्तन होला त ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो हुनै नचाहने र पहिलो कसैलाई हुनै नदिने स्वभावका व्यक्ति हुन् । यसैकारण प्रचण्डसंग जोडी खोज्न आउने वा प्रचण्ड साथमै हुँदा पहिलो हुन खोज्ने व्यक्ति कि सकिन्छन्, कि उनीबाट अलगीन्छन् ।

तीन दशकसम्म पनि पार्टी नेतृत्वमा कसैलाई पहिलो हुनै नदिएका प्रचण्डकै कारण जनयुद्धमा संगै रगत पसिना बगाएका सहयोद्धाहरुले उनको साथ छोडेका छन् । प्रतिफलतः प्रचण्डले बेलाबेला आफु एक्लिन थालेको भन्दै विरक्त परेका अभिव्यक्ति पनि दिन्छन् । नेतृत्व परिवर्तनका सवालमा बर्षाैदेखि निकै खुम्चिएको भन्दै उनलाई विभिन्न आरोप पनि लाग्ने गरेको छ । तर मंगलबारको स्थायी कमिटी बैठकमार्फतप्रचण्डले वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने निर्णय गराएका छन् ।

वडादेखि केन्द्रसम्म निर्वाचित भएर नेतृत्वमा आउनुपर्ने निर्णय भएपछि अब पहिले जस्तो सहमतीय आधारमा नेतृत्व चयन हुनेछैन ।तर यो निर्णय प्रचण्डकै लागि भारी पर्न सक्छ ।किनकि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३० बर्षदेखि पार्टीको नेतृत्वबाट हलचल भएका छैनन् ।२०४८ सालमा चारवटा कम्युनिष्ट घटकबीच एकिकरण भएर नेकपा (एकताकेन्द्र मशाल) बनेको थियो । र त्यसको महामन्त्रीका रुपमा प्रचण्ड चयन भए ।

छैटौं महाधिवेशनबाट महामन्त्रीमा चयन भएका प्रचण्डले तीनबर्ष पछि नै राष्ट्रिय भेला गरे र जनयुद्धमा जाने गरि नेकपा माओवादी बनाएपछि उनी अध्यक्ष बने ।२०५२ फागुन १ मा हिसांत्मक विद्रोह शुरु गरेपछि माओवादीले महाधिवेशन नै गरेन ।

हिंसात्मक विद्रोहबाट पार नलागेपछि २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामार्फत माओवादी शान्तिपूर्ण मुलधारको राजनीतिमा समाहित भयो। त्यसपछि पहिलो संविधानसभाबाट पहिलो शक्ति बनेसँगै माओवादीले स–साना वाम घटकबीच एकता अघि बढायो। २०६५ पुस २९ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र मशालसँग एकीकरण भएपछि पार्टीको नाम नै एकीकृत माओवादी बनाइयो ।

तर नेतृत्व परिवर्तनलाई आफ्नै विर्ता बनाएपछि माओवादीमा असन्तुष्टहरु बाहिरीने क्रम निरन्तर चलिरहेको छ । २०६९ सालमा मोहन वैद्यले पार्टीबाट अलग्गीएर नेकपा–माओवादी गठन गरेयता डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवहुँदै हाल आएर रामबहादुर थापा र टोपबहादुर रायमाझी जस्ता जनयुद्धकालिनसहयात्रीले उनको साथ छोडेका छन् ।तथापी उत्तरार्धमा पुग्न थालेका प्रचण्डले नेतृत्व चयनको स्वरुप परिवर्तन गरेका हुन् ।

२१ बर्षपछि२०६९ माघमा सातौं महाधिवेशन गरेका प्रचण्ड आफु नै अध्यक्ष बने । त्यसयता २०७४ मा आएर एमालेसंग एकिकरण गर्दै नेकपा बनाएका प्रचण्ड दोस्रो हुन बाध्य बने ।दोस्रोमा थन्किने अवस्था आएपछि एमाले अध्यक्ष ओलीसंग उनको खटपट बढ्दै जाँदा गतबर्षको फागुन २३ मा नेकपा नै भंग भयो ।

अहिले पुनः माओवादी केन्द्रको अध्यक्षमा फर्किएपछि प्रचण्डले आगामी पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलनको तयारी गरेका छन् ।तर नेतृत्व परिवर्तनका यो सम्मेलन निकै निर्णायक मानिएपनि प्रचण्ड नै दोहोरिने दाउमा छन् ।

फलतः व्यक्तिगत रुपमा प्रचण्ड सफल भए पनि नेतृत्व विकास र उत्तराधिकारी निर्माणमा कमजोर देखिएको वा दोस्रो पुस्ता पनि प्रचण्डसंग नेतृत्व हत्याउन ताकतदार नबनेको देखिदै गएको छ ।