बिजनेस

एमालेको नाराबाजीलाई सभामुखले वास्तै गरेनन्, पारित भयो विनियोजन विधेयक (भिडियोसहित)


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । अब राष्ट्रियसभाले पारित गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बजेट कार्यान्वयमा आउने छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गर्यो । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । तर सभामुखले नारावाजीलाई बास्ता गरेनन् ।

तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो । अर्थमन्त्री जनार्दन शर्माले सोमबार भएको छलफलका क्रममा प्रतिस्थापन विधेयकमा अध्यादेश बजेटमा भएका तीन प्रतिशत कुराहरूमात्र फेरबदल गरिएको बताएका थिए । विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताए ।

विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफल सिध्याएर अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरे । सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । त्यस लगत्तै सभामुखले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवाल एक्लैले सहभागिता जनाए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नारावाजीमा केन्द्रित भए । सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् । सुवाल एक्लैले खर्च कटौतीको प्रस्ताव राखेका थिए । मन्त्रालयगत छलफलमा पनि सुवाल एक्लैले भाग लिए । सुवालले सोधेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिए । अर्थमन्त्रीलाई पुरक प्रश्न सोध्ने पनि सुवाल मात्रै थिए । सांसद सुवालले कृषिमा खर्च बढाउनुपर्ने, प्रत्येक युवालाई सैन्य तालिम दिएर देशको रक्षामा लगाउनुपर्ने, एमसीसी जस्ता परियोजनालाई अगाडि बढाउन नहुने बताएका थिए । वाइडबडी जहाज प्रकरण, तारागाउँ विकास समितिमा भएको भनिएको भ्रष्टाचार, आवश्यक औषधि खरिद लगायतका विषयमा अर्थमन्त्रीलाई प्रश्न गरेका थिए ।

प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपति कहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।