खेलकुद

ओमानविरुद्ध नेपालको शानदार जित, सात विकेटले पराजित


काठमाडौ – आईसिसी विश्वकप लिग २ अन्तरगतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । ओमन भ्रमणमा रहेको नेपाली टोली ओमनलाई सात विकेटले हराएको हो ।

हिजो साँझ भएको खेलमा टर हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली ओमनले ३७.१ ओभर खेल्दै १२२ रनको लक्ष्य दिएको थियो । जवाफमा सुरुदेखि नै आक्रमक व्याटिङ गरेको नेपालले १८.१ ओभरमा नै लक्ष्य भेटाएको थियो । ओपनर कुशल भुर्तेल ८ बल खेलेर ६ रन बनाएर सस्तैमा समेटिएपछि कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेखले नेपालको पारीलाई सम्हालेका थिए । उनीहरुबीच ९५ रनको साझेदारी भएको थियो । कप्तान मल्लले ४६ बलमा २ छक्का र ४ चौकासहित ५२ रनको अर्धशतकीय पारी खेल्दा आरिफ शेखले ४४ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ४० रन बनाएका थिए ।

ओमानलाई सस्तैमा समेट्न नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान चार–चार विकेट लिएका थिए । लामिछानेले ८.१ ओभर बल फ्याकेर दुई मेडन गर्दै १८ दिएर २.२० को इकोनोमीमा ४ विकेट लिएका थिए । यता केसीले पनि ८ ओभर गर्दै एक मेडनसहित २५ रन खर्चेर ३.१२ को इकोनोमीमा ४ विकेट लिएको थियो । त्यस्तै शरद भेषवाकरले २ विकेट लिए।

ओमानका लागि कप्तान मक्सुदले सर्वाधिक ४१ रन जोडेका थिए । त्यस्तै नेस्तोर धम्बाले २ विकेट र कलिम मुल्लाहले एक विकेट लिएको थियो । यसअघि नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।
यो जितसँगै नेपाल तालिकाको चोथौं स्थानमा उक्लिएको छ । नेपालको ८ खेल खेलेको नेपालले चारमा जित र चारमा हारसँगै ८ अंक नै बनाएको छ । नेपालभन्दा माथि क्रमशः रहेको ओमानको १३ खेलबाट २० अंक, अमेरिकाको १५ खेलबाट १४ र स्कटल्याण्ड ८ खेलबाट ९ अंक रहेको छ । अब नेपालले २८ खेल खेल्न बाँकी छ । प्रत्येक टोलीले ३६ वटा एक दिवसीय खेल खेल्नुपर्ने हुन्छ । जुन टोली उत्कृष्ट तीनमा पर्छ त्यो टोली २०२३ मा हुने वल्र्ड कपका लागि अघिल्लो चरणमा प्रवेश गर्नेछ ।