खेलकुद

आज नेपाल र अमेरिका भिड्दै


काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल अमिरात क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः१५ बजे शुरु हुनेछ ।

अमेरिकाविरुद्धको पहिलो खेलमा पाँच विकेटले जित हात पारेको नेपाल आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिनेछ । पहिलो खेलमा अमेरिकालाई पराजित गरे पनि दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले नै पराजित भएको थियो । ओमानसँग पराजित भए पनि अमेरिकाविरुद्धको खेलमा नेपाल उच्च मनोबलसहित मैदानमा उत्रिनेछ । यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सात टोली रहेको लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।