खेलकुद

अर्जेन्टिनाको जितमा मेस्सीको कीर्तिमान, तोडे पेलेको रेकर्ड


काठमाडौँ – फिफा विश्वकप २०२२ छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले पराजित गरेको छ । अर्जेन्टिनाको राजधानी ब्युनोस एयर्समा भएको खेलमा घरेलु टोलीका कप्तान लियोनल मेस्सीले शानदार ह्याट्रिक प्रहार गर्दै पेलेको कीर्तिमान तोडेका छन् ।

मेस्सीले बोलिभियाविरुद्ध १४औं मिनेटमा पहिलो गोल गर्दा ब्राजिलका लेजेण्ड पेलेको ७७ अन्तराष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका थिए । पहिलो हाफमा १–० गोलको अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफको ६४औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । मेस्सीले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै पेलेको दक्षिण अमेरिकी महादेशमा सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका थिए । त्यसपछि मेस्सीले खेलको ८८औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे । यससँगै मेस्सीको अन्तराष्ट्रिय गोल संख्या ७९ समेत पुगेको छ ।

विश्वको सर्वाधीक गोलको किर्तीमान भने पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोका नाममा छ ।