राजनीति

दार्चुला घटनाबारे सरकारले आज संसद्लाई जानकारी दिने


काठमाडौँ – सरकारले दार्चुला घटनाबारे भएको छानबिन र भारतलाई पठाइएको कूटनीतिक नोटबारे संसद्लाई जानकारी दिने भएको छ । सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिनु हुने छ ।

खाणले भारत सरकारलाई नेपालले दार्चुला घटना र गैरसैनिक भारतीय हेलिकोप्टर नेपाली भूमिमा आएको विषयमा गरेको पत्राचारका बारेमा जानकारी दिनुहुने छ । परराष्ट्र मन्त्रालयले तुइनबाट नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा एसएसबीका जवानको उपस्थिति र संलग्नता दुवै भएको उल्लेख गर्दै भारतलाई कूटनीतिक नोट पठाएको छ ।

गृह मन्त्रालयले १५ भदौमा प्रतिवेदन गृहमन्त्री खाँणलाई बुझाउँदा जारी गरेको विज्ञप्तिमा दार्चुला घटनामा एसएसबीका जवानको उपस्थिति रहेको उल्लेख थियो । तर, गृह मन्त्रालयले परराष्ट्रलाई १६ भदौमा पठाएको प्रतिवेदनको निष्कर्ष र परराष्ट्रले सोमबार भारत सरकारलाई पठाएको कूटनीतिक नोटमा एसएसबी संलग्न भएको जनाएको छ ।