देश

संखुवासभा सामूहिक हत्या प्रकरण : ६ जनाको शव पोष्टमार्टमका लागि धरान पठाइयो


काठमाडौँ – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरिएकाहरुको शव पोस्टमार्टमका लागि पठाइएको छ । आवश्यक अनुसन्धानपछि प्रहरीले मंगलबार दिउँसो ६ जनाकै शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको हो । प्रहरीका अनुसार मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको हो ।

प्रहरीले घटनाको अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । सोमबार अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो ।

सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । ९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशल छन् । वौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्की हत्या भएको हो ।